किशोरीहरूको शरीरलाई प्रयोगशाला नबनाउ

नेपालमा डिम्ब र शुक्रकिट संकलनसम्बन्धी स्पष्ट कानुन छैन् । महिलाको डिम्ब दान वा बेचबिखन सम्बन्धी कानून समेत छैन् । शुक्रक्रिट दान गर्न सकिने भनेर मौलिक हकमा लेखिएपनि महिलाको डिम्बको विषयमा देशमा कानुन बनेको छैन । जनस्वास्थ्य नियमावली २०७७ मा विशिष्टीकृत सेवाका रूपमा टेस्टट्युब बेबी वा आईभीएफ सेन्टर मापदण्ड उल्लेख छ । त्यसमा सेन्टर सञ्चालनका लागि के मापदण्ड चाहिन्छ भन्ने पनि उल्लेख गरिएको छ । तर शुक्रकिट र महिलाको डिम्ब (अण्डा) को संकलन र कारोबारका विषयमा यसमा समेटिएका छैनन् ।

नेपालका धेरै आइभीएफ सेन्टरहरुले शुक्रकिट र महिलाको डिम्ब (अण्डा) को संकलन गरि नेपालको फितलो कानुन र कमजोर नियमनको फाइदा उठाउँदै आएको देखिएको छ । अन्तराष्ट्रिय नियम कानुन अनुसार पनि हामीले सेवा लेन देन गर्न सकिएपनि बालिकाको प्रयोग भने निश्चत पनि राम्रो होइन् । महिलाबाट डिम्ब लिने कुरा जोखिमपुर्ण कुरा पनि हो । उनीहरुलाई औषधी खुवाएर, अप्रेशन कोठामा नै लगेर बेहोस् बनाएर डिम्ब संकलन हुने डाक्टरहरु बताउँछन् । अप्रेशनको क्रममा पिसाब थैली वा दिशा घरमै प्वाल पर्न पनि सक्छ र रगत बग्न सक्छ । पछि संक्रमण हुन सक्छ । डिम्ब उत्पादन क्षमता नै घट्न पनि सक्छ ।

यस्तो जटिल विषयमा चरम हेलचेक्राई भएको पाईएको छ । निःसन्तान दम्पतीलाई सन्तानोत्पादन गराइदिने नाममा किशोरीको डिम्ब बेचबिखन हुने गरेको तथ्य खुलेको हो । काठमाडौंको बबरमहलमा रहेको ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’का तीन चिकित्सकसहित पाँच जनालाई किशोरीको डिम्ब बेचबिखनको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । निःसन्तान दम्पतीलाई आईभीएफ लगायतका विभिन्न प्रविधिको सहयोगमा बच्चा जन्माउन सहयोग गर्ने यस संस्थाले १८ वर्ष मुनिका किशोरीको डिम्बको कारोबार गरेको उजुरीको आधारमा सीआईबीले अनुसन्धान उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध बालबालिकाविरुद्धको कसुरमा जाहेरीसमेत दर्ता सीआईबी स्रोतले जनाएको छ । निसन्तान दम्पतीलाई बच्चा जन्माउन सहयोग गर्ने नाममा किशोरीहरूको शरीरलाई प्रयोगशाला बनाएको भेटिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानले किशोरीहरूमध्ये एक जनालाई १० र अर्कोलाई १५ हजार रुपैयाँ दिएको पाइएको छ ।

किशोरीहरू कुनै जैविक उत्पादन केन्द्र होइनन्, उनीहरू स्वतन्त्र, अधिकारसहितका मानव हुन् । तर पछिल्लो घटनाले हाम्रो समाजको संवेदनशील पक्ष उजागर गरेको छ । किशोरीहरूले केही हजार रुपैयाँको लोभमा आफ्नो शरीरलाई प्रयोगशाला बनाउनु परेको छ । जुन हाम्रो शिक्षित समाजको गम्भीर असफलता हो । किशोरीहरूको जीवन, स्वास्थ्य र भविष्यमाथि खेलबाड गर्नु कानुनी मात्र होइन, मानवीय अपराध हो । यस्तो आपराधिक कार्यलाई कठोर कानुनी कारबाहीको दायरामा ल्याइनु अबको आवश्यकता हो । हालैको घटनामा निष्पक्ष र पहिरो अनुसन्धान हुनुपर्छ । ताकी यस्ता हर्कतहरु फेरी पनि नदोहोरियोस् । अर्कोतर्फ नेपाली समाजले किशोरीलाई शिक्षादिक्षा, अवसर र सुरक्षाको प्रत्याभूति दिनुपर्छ । यो दायित्व आम नेपाली नागरिकहरुको हो । समग्रमा किशोरीहरुलाई प्रयोगशालाको नमुना होइन, देशको सक्षम नागरिक बनाउने वातावरण बनाउनु सबैको दायित्व र कतव्र्य हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार